FAQs Complain Problems

कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रमा नौ दिनमा एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कोशी पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।

कोशी गाउँपालिकाको कार्यालयले १ लाखबढी पर्यटक भिर्याउने लक्ष्यका साथ कोशी पर्यटन महोत्सवको तयारी थालेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउदै एक नम्बर प्रदेश सरकारले लिएको ५ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोशी गाउँपालिकाको कार्यालयले कोशी पर्यटन महोत्सव गर्न लागेको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहामा बुधबार पत्रकार सम्मेलन गर्दै कोशी गाउँपालिकाले माघ १९ गतेदेखि २९ गतेसम्म महोत्सव आयोजना गर्ने बताएको हो । कोशी पर्यटन महोत्सव २०७६ नाम दिइएको महोत्सवको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको कोशी गाउँपालिकाले जनाएको छ ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीका अनुसार नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटनस्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन र बजारीकरण तथा दुर्लभ पशुपंक्षी र वन्यजन्तु संरक्षणमा योगदान दिने उद्देश्यले कोशी पर्यटन महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा कोशीटप्पु वन्यजन्तु आरक्षको गतिविधि तथा परिचय र चरा महोत्सव २०२० सम्बन्धी कार्यक्रम, स्रोत साधन सङ्कलन, विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, कोशीटप्पुको विषयमा जानकारीमूलक ब्रोसर, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरूको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर, स्थानीय हस्तकला र कृषि उत्पादनहरूको स्टल प्रदर्शन, राष्ट्रिय व्यापी बीपी स्मृति कुस्ती प्रतियोगिता, पालिकास्तरीय खेलकुद प्रतियोगिता, स्वास्थ शिविर, चरा तथा कोशीटप्पुमा पाइने वन्यजन्तुको तस्बिर प्रदर्शन र नागरिक सहयोग तथा सूचना कक्ष माघ १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिने कोशी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

कोशी महोत्सवको रैथाने अर्ना, विश्वकै दुर्लभ चरा, नेपालकै पहिलो हात्ती प्रजनन् केन्द्र, सिमसार क्षेत्र, डल्फिन र अजिङ्गर प्रमुख आकर्षणका रूपमा रहने गाउँपालिका अध्यक्ष अन्सारीले बताए । कोशी महोत्सव आयोजना गर्न अनुमानित ४० देखि ५० लाख खर्च हुने बताउँदै अध्यक्ष अन्सारीले त्यसको लागि सुनसरीका सम्पूर्ण स्थानीय तह, प्रदेश सरकार, कोशीटप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय खेलकुद परिषद्बाट सहयोग माग्ने बताए । महोत्सवमा ३० वटा स्थानीय स्टल राखिने उनले बताए ।

कोशी पर्यटन महोत्सवमा बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउने उद्देश्य रहेको बताउँदै अन्सारीले त्यसको लागि भारत बिहार राज्यका मुखियादेखि उच्चपदस्थ कर्मचारीलाई कोशीटप्पुमा ल्याउने तयारीमा आफू रहेको बताउँछन् । एक नम्बर प्रदेशको मुख्य पर्यटनस्थलका रूपमा कोशीटप्पु रहेकोले यहाँ १ लाखबढी पर्यटक ल्याउने उनको दाबी छ । अन्सारीले भने, ‘पर्यटकीय हिसाबले कोशीटप्पु एक नम्बर प्रदेशकै प्रमुख गन्तव्य हो, यहाँ १ लाख पर्यटक ल्याउन सकिएन भने एक नम्बर प्रदेश सरकारले लिएको ५ लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्न गाह्रो हुन्छ ।’

कोशीटप्पुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले कोशी महोत्सवजस्ता कार्यक्रमले कोशीटप्पुको विशेषताका बारेमा जानकारी गराउन फलदायी हुने बताए । कोशीटप्पु वन्यजन्तु आरक्षको मुख्य काम संरक्षित वन्यजन्तुको संरक्षण गर्नु भएको जनाउँदै वार्डेन चौधरीले कोशी गाउँपालिकाको कार्यालयसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको बताए । कोशीटप्पु पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले यसको प्रचार–प्रसार तथा पूर्वाधार विकास हुनसके स्थानीय जनता लाभान्वित हुने चौधरीको कथन छ ।

कोशीटप्पु क्षेत्रमा १२ महिना नै पानी पाइने भएकोले क्यानोनिङ गराउने सम्भावना रहेको हुँदा त्यसो गर्न सकिए कोशीटप्पुमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उनले बताए । उनले जलकुम्भी सरसफाइ गरेर पश्चिम कुसाहादेखि हरिपुरसम्म क्यानोनिङ गराउन सकिने र यसले आन्तरिकदेखि वाह्य पर्यटकलाई आकर्षित गरेर स्थानीय सर्वसाधारणको आयस्रोत बढाउनुका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकारले आर्थिक लाभ लिन सक्ने बताए ।

आर्थिक वर्ष: